काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । कोभिड महामारी अगाडि सामान्य रुपमा अगाडि बढेको डिजिटल कारोबार त्यसयता भने निरन्तर बढिरहेको देखिन्छ । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एक महिनाको अवधिमा करिब तीन लाख वालेट प्रयोगकर्ता थपिएका छन् । गत वर्षको असोज महिनाको तुलनामा कात्तिक महिनासम्ममा २ लाख ९३ हजार ९१५ जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् । गत वर्षको असोज महिनासम्म एक करोड ४८ लाख ३९ हजार ८२० जना वालेट प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता बढेर कात्तिक महिनासम्म आइपुग्दा एक करोड ५१ लाख ३३ हजार ७३५ जना पुगेका हुन् ।








