काठमाडौँ — वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागू भए पनि त्यसमा विदेशमा बस्ने नेपालीले खासै रुचि देखाएका छैनन् । पछिल्लो समय आईपीओ खुलेका कम्पनीमा विदेशमा रहेका नेपालीबाट अपेक्षाभन्दा धेरै कम मात्र आवेदन परेकाले उनीहरूको रुचि कम रहेको पुष्टि हुने जानकारहरू बताउँछन् ।
सीडीएस एन्ड क्लियरिङका अनुसार अहिले चार कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओको आवेदन
आह्वान गरेका छन् । तीमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीबाट आइतबार साँझसम्म करिब १२ हजार आवेदन परेको सीडीएस एन्ड क्लियरिङको तथ्यांक छ । हाल करिब ४० हजार नेपालीले सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको तथ्यांक छ ।





