शेयर बजारका लगानीकर्ताले आफ्नो लगानीको करिव ४० प्रतिशत डुबाइसकेका छन् । ३२०० नजिकसम्म पुगेको नेप्से १८८५ अंकमा झरेपछि लगानीकर्ताले आफ्नो लगानीको ठूलो हिस्सा गुमाउन पुगेका हुन् ।
सरकार र नेपाल राष्ट्र बैंकले शेयर बजारप्रति हेर्ने नजरसँगै नीतिगत परिवर्तन गर्दा लगानीकर्ता चुलुम्म डुब्न पुगेका हुन् । खासगरी राष्ट्र बैंकले शेयर लगानीकर्तालाई सेक्ने गरी ल्याएको खासगरी ४-१२ र ब्याजदर बृद्धि गर्न टेवा पुग्ने नीतिका कारण लगानीकर्ता नराम्रोसँग फस्न पुगेका छन् ।
राष्ट्र बैंकले ल्याएको त्यस्तो नीति परिवर्तनका लागि लगानीकर्ताले बारम्बार धर्ना, जुलुस र आमरण अनसनका कार्यक्रम समेत गरे । अन्त्यमा पुँजी बजार विकास तथा सुधारको माग राख्दै आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइराला र नेपाल धितोपत्र बोर्डबीच १९ बुँदे माग कार्यान्वयन गर्ने विषयमा सहमति हुन पुग्यो । सहमति अनुसार नै कोइरालाले आमरण अनसन पनि अन्त्य गरे ।
पुँजी बजारका समस्यालाई समाधान गर्न एक समिति पनि गठन गरियो । त्यो समिति पनि कागजमा सिमित भयो ।
अहिले पनि पुँजी बजारका समस्या ज्यूका त्यू छन् । बजार निरन्तर ओरालो लाग्ने क्रम रोकिएको छैन् । लगानीकर्ता उठ्नै नसक्ने गरी डुबेका छन् ।
शेयर बजारका लगानीकर्ता उठन नपाउँदै अब डुब्ने पालो उद्योग व्यवसायीको आएको छ । सरकारले ब्याजदर घटाएको छैन् । अहिले पनि उद्योग व्यवसायीले बैंकबाट १८ प्रतिशतसम्म ब्याजदरमा ऋण लिइरहेका छन् ।
ब्याजसँगै औद्योगिक क्षेत्रमा ७ सय प्रतिशतसम्म भाडावृद्धि गरिएको छ । भाडा बृद्धिको विरोधमा बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योगीहरुले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन् ।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रमा ७ सय प्रतिशतसम्म भाडावृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । महासंघले एकैपटक ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावली विपरित भएकाले तत्काल निर्णय फिर्ता लिन माग गर्दै आएको छ ।
वि.सं २०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडावृद्धिको मापदण्ड बनाएर ५-५ वर्षमा भाडावृद्धि गर्नुपर्नेमा नियमविपरित २०७२-२०७३ सालमा १५-१५ प्रतिशतले भाडावृद्धि गर्ने र २०७५ मा एकैपटक ७०० प्रतिशतसम्म वृद्धि गर्ने कार्य नियम विपरित भएको महासंघले बताएको छ ।






