काठमाडौं । हालसम्म नौं जलविद्युत कम्पनीले लाभांशको घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत विभिन्न नौ हाइड्रोपावर कम्पनीहरुले शेयरधनीहरुका लागि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन् ।
लाभांश प्रस्ताव गर्ने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना, अरुण काबेली पावर, चिलिमे जलविद्युत कम्पनी, अरुण भ्याली हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर, युनाईटेड इदी मर्दी, माउन्टेन इनर्जी, रिडी पावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनी रहेका छन् ।
नेप्सेका अनुसार लाभांश घोषणा गरेका कम्पनीहरुमा रु रु जलविद्युत परियोजनाले यस वर्ष कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । त्यस्तै, अरुण काबेली पावर लिमिटेडले यस वर्ष १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।
त्यसैगरी, सानिमा माई हाइड्रोपावर लिमिटेडले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै, माउन्टेन इनर्जी नेपालले कर बाहेकको १०.५२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।






