मोबाइल अथवा ट्याब्लेटमा प्रयोग हुने एप्लिकेसन (छोटकरीमा एप)का बारेमा भाइबहिनीलाई थाहै होला । मोबाइल एप एक किसिमको सफ्टवेयर हो । यसमा हामीले खोजेको कन्टेन्ट प्रयोग गर्न सक्छौँ । जस्तो कि हामीलाई गेम खेल्न मन लाग्यो भने गेमिङ एप डाउनलोड गर्छौं । त्यस्तै कुराकानी अथवा भिडियो कल गर्न मन लाग्यो भने च्याटिङ एप राख्छौँ । अनलाइनबाटै खानेकुरा अथवा केही किन्न मन लागे सपिङ एप र कतै जानु परे राइड सेयरिङ एप हाम्रो मोबाइलमा राखेका हुन्छौँ ।
यसरी आफ्नो रुचिअनुसारका एप राख्दै जाँदा हाम्रो मोबाइल धेरै एपले भरिएको हुन्छ । धेरै एप राख्दा मोबाइलको स्टोरेज पनि घटिरहेको हुन्छ । एकै किसिमको कामका लागि फरक–फरक एप प्रयोग गर्नुपर्दा झन्झट पनि हुन्छ । प्रयोगकर्ताका पछिल्ला यस्तै अनुभवलाई समाधान गर्ने गरी विश्वभर अहिले सुपर एपको प्रयोग बढिरहेको छ र निश्चित छ कि अबको जमाना पक्कै सुपर एपकै हुनेछ ।
के हो सुपर एप ?
धेरै किसिमका एपको सुविधा एउटै एपबाट पाइन्छ भने त्यो नै सुपर एप हो । जस्तो कि कुनै एउटा एप राखेकै भरमा त्यसमै गेम खेल्न मिल्ने, सामान खरिद गर्न सकिने, भुक्तानी दिन मिल्ने, च्याट गर्न सकिनेलगायतका सुविधा । यसरी एउटै एपबाट अनेक सुविधा दिने गरी विश्वभर धेरै एप उदाइरहेका छन् । यसले प्रयोगकर्ताको समय पनि बचत गरिरहेको छ । अनेक एपका लागि फरक पास वर्ड सम्झिनुपर्ने झन्झट कम गरिदिएको छ । मोबाइलको स्टोरेज बचाएको छ ।








