कालिन्चोक दर्शन लिमिटेडले बुधवारबाट निष्कासन गरेको रेमिट आइपिओ पहिलो दिन नै ४० प्रतिशत बिक्री भएको छ।
८३ आवेदकले ४३ हजार ६०० कित्ता माग गरेपछि पहिलो दिन नै ४० प्रतिशत शेयर बिक्री भएको केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि)ले जनाएको छ। कम्पनीले एक लाख आठ हजार कित्ताकोलागि बुधवारदेखि आइपिओ निष्कासन गरेको थियो।
कम्पनीले निष्कासन गरेको शेयरमा एकै व्यक्तिले हजारौँ कित्ताकोलागि आवेदन गरेका छन्। रेमिटेन्स खाता खोल्दै सिआरएन नम्बर लिने कम भएको अनुमान गर्दै आवेदकहरूले हजारौँ कित्ताकोलागि आवेदन गरेका हुन्। सीडिएससिका अनुसार बुधवारसम्म जम्मा जम्मी १५० जना मात्रै उक्त आवेदनकोलागि योग्य ठहरिएका छन्। रेमिटेन्स खाता मार्फत छुट्टै सिआरएन नम्बर लिँदै उनीहरू आवेदनकोलागि योग्य ठहरिएका हुन्।कम्पनीले निष्कासन गरेको शेयरमा एक व्यक्तिले १० हजार ८०० कित्तासम्म आवेदन दिन सक्छन्।
आवेदन दिने धेरै जसोले कम्तीमा पनि ५०० कित्ताको लागि आवेदन दिएका छन्। आवेदन दिँदा ६ महिना भित्र खातामा ५० हजार रुपैयाँ रेमिटेन्स पठाएको हुनु पर्ने प्रावधान छ। सोही प्रावधानका कारण श्रमिकले ५० हजार रुपैयाँकै आवेदन बढी गरेका छन्। आवेदन गर्ने धेरैले ५० हजार रुपैयाँ बराबरकै आवेदन गर्नु पर्ने बुझेका कारण पनि कम्तीमा ५०० कित्ताको लागि आवेदन गरेको हुन सक्ने अनुमान सिडिएससिको छ। तर केहीले भने कम आवेदन पर्ने आकलन गर्दै हजारौँ कित्ताको माग गरेको सिडिएससिको भनाई छ।
कम्पनीले मंसिर १४ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले आवेदन खुलेको १५ दिनसम्म आवेदन गर्ने म्याद राखेको छ।






