नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको औसत अन्तर (स्प्रेडदर) घटाएपछि बैंकहरुको नाफा घट्ने बताइरहेका बेला जीवन बीमा कम्पनीहरुको भने नाफा बढ्ने देखिएको छ ।
वाणिज्य बैंकहरुले औसत ब्याजदर अन्तर ४ प्रतिशतमा झार्नु पर्ने भएको छ । यसअघि बैंकहरुले ४.४ प्रतिशतसम्म स्प्रेडदर लिँदै आएका थिए । त्यस्तै, विकास बैंक तथा वित्त कम्पनीहरुको स्प्रेडदर ५ प्रतिशतबाट झरेर ४.६ प्रतिशत कायम गरिएको छ । यसले गर्दा बैंकहरुके नाफा घट्ने अनुमान गरिएको छ । तर यता जीवन बीमा कम्पनीहरुकाे भने नाफा बढ्ने देखिएको छ ।
बीमा कम्पनीहरुले बीमालेख धितोपत्र प्रवाह गर्ने कर्जाको ब्याज बढाएपछि आम्दानी समेत बढ्ने भएको हो ।
पछिल्लो समय बैंकहरुले लगानीयोग्य रकमको अभाव देखाउँदै कर्जा दिन छाडेका छन् । बैकले कर्जामा कडाई गरेपछि बीमालेख धितोमा राखेर ऋण लिने समेत बढेका छन् । बैंकको ब्याजदर भन्दा बीमालेख धितोको ब्याजदर सस्तो पर्ने भएकाले पनि बीमालेख धितोमा ऋण लिने बढ्दै गाएका हुन् ।
बैंकले कर्जामा कडाई गर्दै मुद्दती निक्षेपको ब्याजदर बढाएपछि यता जीवन बीमा कम्पनीहरुले बीमालेख धितो प्रवाह गर्ने कर्जाको ब्याजदर बढाएका छन् । बीमा कम्पनीहरुले बीमालेख धितो प्रवाह गर्ने कर्जाको ब्याजदर १२ प्रतिशत पुर्याएका छन् । यसअघि १० प्रतिशत ब्याजमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा कर्जा वितरण गर्दै अइरहेका थिए ।
बीमितहरुले बीमा कम्पनीहरुबाट बीमालेख धितोमा ऋण लिएर बैंकहरुको मुद्दती निक्षेपमा राखेको पाइएपछि ब्याजदर बढाईएको जीवन बीमक संंघले जनाएको छ । कात्तिकदेखि नै लागु हुने गरी जीवन बीमा कम्पनीहरुले बीमालेख धितोको ब्याजदर बढाएका हुन् ।
बीमालेख धितोको ब्याजदर १० प्रतिशतबाट १२ प्रतिशत पुगेसँगै जीवन बीमा कम्पनीहरूकाे आम्दानी समेत बढ्ने संघले जनाएको छ ।
साढे ७३ अर्ब लगानी गरी करिब २ अर्ब आम्दानी
चालु आर्थिक वर्षको तीन महिनामा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा ७३ अर्ब ५२ करोड ४० लाख रुपैयाँ लगानी गरेका छन् । त्यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३५.६० प्रतिशतले धेरै हो ।
बैंकको ब्याजदर भन्दा बीमालेख धितोको ब्याजदर सस्तो पर्ने भएकाले पनि बीमालेख धितोमा ऋण लिने बढेका हुन् । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा ५४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
कम्पनीहरुले बीमालेख धितोमा लगानी गरेको ७३ अर्ब ५२ करोड ४० लाख रुपैयाँ मध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । नेपाल लाइपले २६ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरी ८३ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ ।






