काठमाडौं । विभिन्न कम्पनीहरू साधारण शेयर (आईपीओ) निष्काशनका लागि पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार विभिन्न ३० कम्पनीहरू आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिएर स्वीकृतिको पर्खाइमा छन् । यसरी स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरूको ११ अर्ब ९५ करोड २५ लाख ७१ हजार ८८५ रुपैयाँ बराबरको ९ करोड ९ लाख ६६ हजार १४१ कित्ता प्रारम्भिक शेयर निष्कासन हुनेछ ।
सेबोनमा आईपीओ निष्कासनको लागि स्वीकृतिको पर्खाइमा रहेका दुई कम्पनीले बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने भएका छन् । जसमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्न अनुमति मागेका हुन् । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ मार्फत २४ लाख कित्ता शेयर निष्काशनको तयारीमा छ । सर्वोत्तमको शेयर प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म तोकिएको छ ।






