काठमाडौं : बैंकिङ प्रणालीमार्फत डिजिटल भुक्तानी गर्ने विभिन्न उपकरण बढेसँगै कारोबार गर्ने पनि बढेका छन्। नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने नीतिमा जोड दिएसँगै कारोबारले फड्को मारेको छ।
असोजसम्ममा मात्रै क्यूआर कोड (क्विक रेस्पोन्स)मा आधारित भुक्तानी वार्षिक २१४.८ प्रतिशतले बढेको छ। पोहोर असोजमा कारोबार संख्या १५ लाख १५ हजार थियो। हाल ४७ लाख ७० हजार पुगेको राष्ट्र बैंकले बताएको छ। क्यूआर कोडको प्रयोगबाट १७ अर्ब ३३ करोड ७० लाख रुपैयाँ कारोबार भएको छ। पोहोर ६ अर्ब ९ करोड ७० लाख रुपैयाँ कारोबार भएको थियो।
दुई वर्षदेखि अधिकांश बैंकले तरकारी पसल, चिया पसल, डिपार्टमेन्टल स्टोरसम्म क्यूआर कोडको व्यवस्था गर्दै आएका थिए। क्यूआर कोडमार्फत भुक्तानी गर्न अनिवार्य रूपमा स्मार्ट फोनको आवश्यकता पर्छ। क्यूआर भनेको तत्कालै प्रतिक्रिया जनाउने अर्थात् तत्कालै भुक्तानी गर्न सकिने उपयुक्त माध्यम हो।








