कुमारी बैंकले गत आवमा सिइओलाई सवा ४ करोड पारिश्रमिक भुक्तानी गरेको छ । बैंकका सिइओ सुरेन्द्र भण्डारीले आफ्नो ४ वर्ष कार्यकाल सकेर बाहिरिएपछि अनुमणि तिमिल्सिनालाई नियुक्त कामु सिइओ नियुक्त गरिएकाे थियाे ।
उनले गत आवको बीचैमा राजीनामा दिएर हिंडेपछि बैंकले रामचन्द्र खनाललाई चार वर्षको लागि सिइओको जिम्मेवारी दिएको छ । बैंकले गत बैशाखमा मात्रै उनलाई सिइओको जिम्मेवारी दिएको थियो । बैंकको २२ औं वार्षिक प्रतिवेदन अनुसार कामु सिइओ तिमिल्सिनाले ३ करोड ६४ लाख ९८ हजार रुपैयाँ बुझेका थिए । उनले ऐच्छिक अवकाश स्वरुप १ करोड ८३ लाख ५९ हजार रुपैयाँ बुझेकाले यस वर्ष बैंकको सिइओको भुक्तानी बढी देखिएको हो । कुमारी बैंकमा गायक योगेश्वर अमात्यको जग्गालाई नक्कली धितो राखेर ऋण दिएको प्रकरणपछि तिमिल्सिना बैंकबाट बाहिरिनुपरेको थियो ।
तिमिल्सिना बाहिरिएपछि आएका खनाललाई गत आवमा बैंकबाट ४९ लाख ७३ हजार रुपैयाँ मात्रै पारिश्रमिक स्वरुप बुझेका छन् । उनले गत आवमा झन्डै ३ महिना मात्रै सिइओको रुपमा काम गरेका थिए ।





