आजको विश्वमा असीमित मानवीय आवश्यकतासँगै भुक्तानीमा निकै नवीनतम प्रविधिको प्रयोग बढ्दो मात्रामा छ । मानव इतिहासको प्रारम्भिक विन्दुतर्फ दृष्टिगत गर्दा त्यतिखेर वस्तु विनिमय प्रणालीमा आफूसँग भएको वस्तु दिएर आफूलाई आवश्यक पर्ने वस्तु साटासाट गरी आफ्ना आवश्यकता पूरा गर्ने कार्य हुन्थ्यो । त्यस समयमा पैसाको चलनचल्ती नै थिएन । वस्तु साटासाट हुनका लागि दुवै पक्ष एक अर्कासँग भएको वस्तु साटासाट गर्न इच्छुक हुनुपर्ने बाध्यता थियो । आफूले उत्पादन गरेको वस्तुसँग आफूलाई आवश्यक पर्ने सामान भएको मान्छे भेटिए र उसलाई पनि आफूले उत्पादन गरेको सामान नै चाहिएको अवस्थामा मात्र वस्तु विनिमय सम्भव थियो । अन्यथा वस्तु–विनिमय गर्दा अनेकौँ कठिनाइहरु झेल्नुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना हुन पुग्थ्यो ।
वस्तु विनिमयदेखि सिक्कासम्म
भुक्तानीको प्रारम्भिक रुपमा सामान खरिदबिक्री गर्दा सिक्काको प्रयोग गरिने गरिन्थ्यो । विनिमयको पहिलो अभ्यासका रुपमा सिक्कालाई लिइन्छ । मानिसहरुले बिस्तारै बहुमूल्य धातुहरू सुन, चाँदी, तामा, पित्तलजस्ता सिक्काको आविष्कार गर्दै विनिमयका सुविधाजनक माध्यम बनाउन थाले । त्यस कालखण्डमा व्यापारिक साधनको रुपमा मानिसहरुमाझ सिक्का निकै लोकप्रिय थियो । त्यसपछि क्रमिक रुपमा मुद्राको महत्त्व बढ्न त थाल्यो तर सिक्का धेरै गह्रुङ्गो हुने हँदा त्यसको ओसारपसार गर्नमा कठिनाइ हुन थाल्यो ।
वस्तु विनिमयबाट रुपान्तरण भएको कारोबार बिस्तारै मुद्रा युगको सुरुवातसम्म आइपुग्यो । मुद्राको कारोबारले मानव सभ्यताको विकासमा मानिसले कल्पना गरेभन्दा बढी योगदान पु¥यायो । मुद्राले वस्तु–विनिमयमा भएका समस्या, कठिनाइ र असहजतालाई समाप्त पारिदियो । मुद्राको प्रयोगले गर्दा मानिसका सम्पत्तिलाई पनि मुद्रामा परिणत गरी पूँजी निर्माण गरी आफूले चाहेको ठाउँमा मुद्राको आदानप्रदान गर्न ज्यादै सजिलो बनायो ।
सिक्कादेखि बैंक नोटसम्म
कागजी नोटको प्रारम्भसँगै धातुका मुद्राहरु प्रतिस्थापन गर्दै लगियो । जसले गर्दा पैसाको ओसारपसारमा सहजता थपियो । नोट निष्कासनले ठूला मूल्यहरु सजिलै सार्न सक्ने क्षमता प्रदान ग¥यो ।
नोटले वित्तीय प्रणालीमा नै आमूल परिवर्तन ल्यायो । सुरुवाती दिनहरुमा कम्पनीहरुले जारी गर्ने नोटहरु पछि गएर आधिकारिक रुपमा देशको केन्द्रीय बैंकले नोट जारी गर्न थाले । नेपाल पनि नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि राजा त्रिभुवन शाहको पालामा खजान्ची पण्डित जनकराज पाण्डेको हस्ताक्षरमा २००२ असोज १ गते पहिलो पटक कागजी नोट निष्कासन गरिएको थियो। त्यसपछि २ जना खजान्ची पण्डित भरतराज र नरेन्द्रराज थिए। त्यतिबेला सदर मुलुकीखानाले नोट छपाइको काम गर्ने गर्दथ्यो । २०१६ साल फागुन ७ गते पहिलो गभर्नर हिमालय शमशेर जबराको हस्ताक्षरबाट नोट छपाइ गरिएको थियो। यस बैंकमार्फत् नेपाली मुद्रा चलनचल्तीमा ल्याउने तथा नेपालमा बैंकिङ प्रथाको विकास गर्ने महत्त्वपूर्ण प्रयास हुँदै आएको पाहिन्छ । हाल नेपालमा नेपाली नोट नै आधिकारिक विनिमयको माध्यम बन्दै आएको छ ।
बैंक नोटदेखि बैंक चेकसम्म ...








