काठमाडौँ — फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मूल कम्पनी मेटाले मंसिर ४ को चुनावका सन्दर्भमा फैलिन सक्ने मिथ्या सूचनाहरूको अनुगमन गरिरहेको जनाएको छ । गत बिहीबार निर्वाचन आयोगसँगको सहकार्यमा आयोजित ‘मेटा फर गुड– अनलाइन सेफ्टी ट्रेनिङ’ कार्यशालामा दक्षिण एसियाका लागि मेटाकी पब्लिक पोलिसी प्रमुख आयशा हसेमले मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्तिहरूको अनुगमनबारे बताइन् ।
‘नेपालमा केही समयमै चुनाव आउँदै छ, यो बेला हाम्रा प्लेटफर्मबाट फैलिन सक्ने मिथ्या सूचनाबारे हामीले अनुगमन गरिरहेका छौं,’ उनले भनिन्, ‘हामी चुनावहरूलाई धेरै महत्त्व दिन्छौं । तसर्थ यहाँको चुनावका लागि पनि हामीले निर्वाचन आयोग र सरोकारवालासँग नजिकबाट काम गरिरहेका छौं ।’







