बैंकहरूले आफ्ना सेवाग्राहीलाई दिने सेवासुविधामा परिष्कृत गर्दै परम्परागत रूपमा चल्दै आएको कागजी र भौतिक शाखामा निर्भर बैंकिङलाई आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल माध्यमबाट बैंकिङ सुविधा प्रदान गरिरहेका छन् । सरल, सहज र सुलभ मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल प्रविधिमा आधारित सेवाहरू नयाँ–नयाँ खोज, अनुसन्धान र अनुभवले अझै परिष्कृत हुँदै जानेछन् । डिजिटल बैंकिङ संस्थाको आन्तरिक अटोमेसन मात्र नभएर पेमेन्ट सिस्टमको स्तरोन्नति पनि हो । नेपालमा वित्तीय पहँुच र समावेशिता अभिवृद्धिका लागि प्रविधिले उपलब्ध गराएको डिजिटल बैंकिङ सेवाको उच्चतम प्रयोग आवश्यक छ ।
बैंक तथा वित्तीय संस्थाको संख्यामा भएको वृद्घिसँगै ती संस्थाहरूले प्रदान गर्ने सेवासुविधामा पनि प्रतिस्पर्धी वातावरणमा आफ्ना बैंकिङ सेवामा विस्तार गर्नुपर्ने आवश्यकता बैंकहरूमा थपिँदै गएको छ, जसको परिणामस्वरूप बैंकिङ प्रणालीमा पनि प्रविधिको आधुनिकतालाई पछ्याउँदै सेवामा विस्तार गर्ने क्रम तीव्र बढ्दै गएको छ । अब बैंकहरू सुरुका दशकहरूमा जस्तो पैसा जम्मा गर्न, निकाल्न, रकमान्तर गर्नका लागि घण्टांै लाइनमा बस्नुपर्ने बाध्यतालाई कमी गर्न एटिएम, क्यास डिपोजिट मेसिन, डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्यूआर पेमेन्टजस्ता प्रविधिको आगमनले बैंकिङ प्रणालीमा सरलताका साथै सहजता ल्याएको छ ।








