काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधवार सम्पन्न पाँचौं वार्षिक साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको छ । नयाँ जीवन बीमा कम्पनीको रूपमा सञ्चालित यस कम्पनीले आगामी चैत मसान्तभित्र रु. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ ।
कम्पनीले सभामार्फत संस्थापकहरूबाट शत प्रतिशत पूँजी थप गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रु. १ अर्ब ४० करोड रहेको छ । संस्थापक तर्फबाट शत प्रतिशत पूँजी थप गरेपछि कम्पनीको चुक्तापूँजी रु. २ अर्ब ८० करोड पुग्नेछ ।
कम्पनीले सर्वसाधारणमा रु. ६० करोड बराबरको आईपीओ निष्कासनको तयारी गरेको छ । यसअघि जीवन बीमा कम्पनीहरूको पूँजी रु. २ अर्ब हुनुपर्ने व्यवस्थाबमोजिम कम्पनीले आईपीओ निष्कासनको तयारी गरेको थियो ।
सर्वसाधारणलाई आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी रु. ३ अर्ब ४० करोड कायम हुनेछ । कम्पनीलाई बीमा समितिको निर्देशनबमोजिम रु. १ अर्ब ६० करोड थप पूँजी आवश्यक हुन्छ । अन्य कम्पनीहरूले पूँजी वृद्धिका लागि मर्जरको बाटो अपनाए पनि यस कम्पनीले मर्जरबिना नै पूँजी कायम गर्ने बताएको छ । आईपीओ जारीपश्चात् पनि अपुग रकमका लागि कम्पनीले बोनस र हकप्रद शेयरको बाटो रोज्नुपर्ने देखिन्छ ।








