काठमाडौँ — गुगल, एप्पल र माइक्रोसफ्टले आ–आफ्ना वेब ब्राउजर (क्रोम, सफारी र एज) को प्रवर्द्धन गर्न प्रतिस्पर्धाविरोधी अभ्यास गरिरहेको मोजिला फायरफक्सले जनाएको छ । यी ठूला प्रविधि कम्पनीहरूले फाइरफक्स र ओपेराजस्ता वैकल्पिक ब्राउजरमा प्रयोगकर्ता टिक्न नदिनेगरी काम गरिरहेको मोजिलाले हालै सार्वजनिक गरेको एक रिपोर्टमा उल्लेख छ ।
गुगल, एप्पल र माइक्रोसफ्टले एकाधिकार कायम गरी आफ्नो मात्रै फाइदा हुने गरी वेब ब्राउजर डिजाइन गरिरहेकोबारे रिपोर्टमा व्याख्या गरिएको छ । विश्वका ४ अर्ब २० करोड मोबाइल, इन्टरनेट ग्राहकमध्ये ७२ प्रतिशत एन्ड्रोइड र २७ प्रतिशत आईओएस प्रयोगकर्ता छन् । डेस्कटपमा विन्डोज प्रयोग गर्ने ७४ प्रतिशत र म्याकओएस प्रयोग गर्ने १४ प्रतिशत रहेको स्टाटकाउन्टर नामक वेब ट्राफिक विश्लेषण गर्ने कम्पनीको तथ्यांक छ । यो तथ्यांकले स्मार्टफोन र डेस्कटप/ल्यापटको अपरेटिङ सिस्टममा गुगल, एप्पल र माइक्रोसफ्टको अधिपत्य देखाउँछ ।







