नेपालमा प्रशासकीय तथा राजनीतिक संरचनाको दृष्टिकोणले हेर्ने हो भने ७ प्रदेश, ७७ जिल्ला, ६ महानगरपालिका, ११ उप–महानगरपालिका, २७६ नगरपालिका, ४ सय ६० गाउँपालिका गरी जम्माजम्मी स्थानीय तहहरूको संख्या ७५३ छ भने यसको कुल वडाको संख्या ६ हजार ७ सय ४३ । मूलत: नेपाल सरकारले भने गत सन् २०१५ सम्ममा देशलाई पूर्ण साक्षर घोषणा गर्ने जनाउँदै अन्तर्राष्ट्रिय रूपमा लिखित प्रतिबद्धता व्यक्त गरेको थियो । फलत: तत्कालीन प्रधनमन्त्री डा. बाबुराम भट्टराईको सरकारको पालामा १४ वर्षअघि अर्थात् वि.सं.२०६५ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मूलन गर्ने घोषणा गरिएको थियो । अत: साक्षरताको प्रतिशतलाई सरसर्ती हेर्दा विकसित देशहरूमा निकै उच्च प्रतिशत रहेको छ भने विकासशील राष्ट्रहरूमा यसको न्यून प्रतिशत मात्र साक्षरता रहेको पाइन्छ ।
त्यस्तैगरी साक्षरतालाई सार्क राष्ट्रलाई अवलोकन गर्ने हो भने सबैभन्दा बढी माल्दिभ्स ९९ प्रतिशत छ भने सबैभन्दा कम अफगानिस्तानमा २८.१ प्रतिशत रहेको छ । अरू देशमा भने क्रमश: श्रीलंका ९८, भारत ७४.०४, बंगलादेश ७०, पाकिस्तान ६९, नेपाल ६५.९ र भुटान ५२.८ प्रतिशत साक्षरता रहेको छ । देशको कुरा गर्दा वि.सं. २०६८ को जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत ६५.९ प्रतिशत छ । यसमध्ये पुरुष ७५.१ र महिला ५७.४ प्रतिशत साक्षर छन् । महिला र पुरुषबीचको साक्षरताको खाडल करिब १८ प्रतिशत देखिन्छ ।








