काठमाडौँ — नेपाल टेलिकमले आज (२०७९ भदौ ३१) देखि निःशुल्क ई–सिम (इम्बेडेड सिम कार्ड) वितरण सुरु गर्दै छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ ।हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिनेछ । नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने र नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने टेलिकमकले जनाएको छ ।
ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरमा गई फारम भरेर बुझाउनु पर्नेछ । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक (इम्बेडेड) सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिम कार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।







