गत साता मात्रै अमेरिकी टेक कम्पनी एप्पलले नयाँ आइफोनहरू सार्वजनिक गर्यो। कम्पनीले आइफोन-१४ का विभिन्न चार मोडल ल्याएको छ। यी फोनमा सिम कार्ड चल्दैन र हाल्ने ठाउँ पनि छैन।
अमेरिकाका लागि यिनमा इ-सिम मात्रै लाग्ने गरी ल्याइएको हो। अमेरिकाबाहेक अन्य देशका लागि दुवै प्रकारको सिम हाल्न मिल्ने संस्करण कम्पनीले उत्पादन गरेको छ।
इ-सिमको पूरा रूप इम्बेडेड सबस्क्राइबर आइडेन्टिटी मोड्युल हो। बोलिचालीको भाषामा यसलाई इलेक्ट्रिक सिम पनि भन्न सकिन्छ।
यस्तै इ-सिम अब हामीकहाँ पनि आउने भएको छ। नेपाल टेलिकमले इ-सिम लाग्ने फोनहरू लक्षित गर्दै इ-सिम ल्याउने तयारी गरेको हो।
यही वर्ष कम्पनीले इ-सिम सार्वजनिक गर्ने गरी काम भइरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए।
'वितरण पनि यसै वर्ष सुरू गर्ने तयारी छ,' प्रवक्ता अधिकारीले भने, 'छिट्टै सुरू गर्छौं होला। तर दसैंअघि नै हुने भन्ने खबर चाहिँ हल्ला हो। यकिन भन्न सकिँदैन। कामहरू बाँकी छ।' ...





