सरकारी वकिलको कार्यालय काठमाडौंले एक अर्ब बढी जरिवाना माग गरेका क्रिप्टो व्यवसायी अमित श्रेष्ठलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।
गत बिहीबार न्यायाधीश राजेन्द्र खरेल र किरण पोखरेलको संयुक्त इजलासले श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको अदालतका रिजष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।
‘तत्काल प्राप्त प्रमाणबाट थुनामा राख्नु नपर्ने देखिएको भन्दै धरौटीमा छोड्ने आदेश गरेको हो,’ उनले भने।
बिहीबार आदेश भए पनि श्रेष्ठले उक्त रकम आइतबार दिउँसोमात्रै बुझाएका हुन्। उनी थुनामुक्त हुने प्रक्रियामा छन्। यद्यपि अदालतले उनको अन्त कतै मुद्दा छ वा छैन भनेर बुझ्ने काम गरिरहेको कट्टेलले बताए।
पक्राउ परेका श्रेष्ठ विशाल सिमेन्टका पूर्वमालिक समेत हुन्। उनले तीन वर्षअघि नै विशाल सिमेन्ट बिक्री गरेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गत असार २९ गते पक्राउ गरेको थियो। ...





