कास्की / पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे ।
यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको साथीले भनेपछि तुरुन्तै पठाइदिए । कुराकानीकै क्रममा मोबाइल बैंकिङ एप्स छ वा छैन ? इसेवा चलाउनुहुन्छ कि हुँदैन भनेपछि उनले आफ्नो इसेवामा हाल पैसा नभएको जवाफ फर्काए ।
सोको एक घण्टापछि आचार्यलाई काठमाडौँका एक साथीले मैले पठाइदिएको रु २५ हजार पाए भनेर भन्नासाथ उनि झसङ्ग भए । यसबीचमा आचार्यले कसैसँग पनि पैसा मागेका थिएन ।
साथीले आफ्नो म्यासेन्जरबाट अनुरोध गरेपछि पैसा पठाइएको बताएपछि उनि आफूलाई प्रयोग गरेर कसैले साथीलाई ठगेको निचोडमा पुगे । मोबाइलमा आएको कोड पठाएलगत्तै आफ्नो फेसबुक नियन्त्रणमा लिएर म्यासेन्जरबाट विभिन्न व्यक्तिसँग पैसा माग गरिएको आचार्यले बताए ।





