३८ हजार ६६ डलर कार्डमा ९३ लाख ८५ हजार अमेरिकी डलर लोड भएको छ, ६१ लाख ३३ हजार अमेरिकी डलर खर्च
काठमाडौँ — अमेरिकी डलरमा भुक्तानी गर्न मिल्ने प्रिपेड कार्डबाट भएका भुक्तानीमध्ये धेरैजसो सामाजिक सञ्जालमा गरिएको विज्ञापन, विभिन्न स्कुल–कलेजबारे जानकारी तथा सेवा, अन्तर्राष्ट्रिय जर्नल खरिद/अध्ययन, सूचना प्रविधिसम्बन्धी सेवालगायतको भुक्तानी गर्न उपयोग भएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको समयमा डलर कार्डमार्फत पनि ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको भन्दै राष्ट्र बैंकको आलोचना हुन थालेपछि गरिएको उक्त अध्ययनले यस्तो देखाएको हो ।
राष्ट्र बैंकका अनुसार गत असारसम्म ३८ हजार ६६ वटा डलर कार्ड जारी भएका छन् । वाणिज्य बैंक र विकास बैंकले उक्त कार्ड जारी गर्न पाउने व्यवस्था छ । तर हालसम्म २३ वटा वाणिज्य बैंकले मात्र कार्ड जारी गरेका छन् । ती कार्डमा ९३ लाख ८५ हजार अमेरिकी डलर (करिब १ अर्ब १९ करोड १९ लाख रुपैयाँ) भरिएको (लोड गरिएको) छ । भरिएको मध्ये ६१ लाख ३३ हजार अमेरिकी डलर (करिब ७७ करोड ८८ लाख ९१ हजार रुपैयाँ) खर्च भएको राष्ट्र बैंकले जनाएको छ । ०७८ असारसम्म ८ हजार ४ सय ९३ वटा कार्ड जारी भएका थिए । ती कार्डमा १६ लाख ६८ हजार अमेरिकी डलर लोड भएकामा ४ लाख ८९ हजार डलर खर्च भएको थियो । ०७७ चैतदेखि डलर कार्डबाट भुक्तानी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । यसकारण ०७८ असारसम्म थोरै कार्ड जारी भएको र रकम पनि कम खर्च भएको देखिएको थियो । तर गत असारसम्म आइपुग्दा डलर कार्डबाट मात्र करिब ८८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा बाहिरिएको छ । ...







