१० लाखभन्दा माथिका चेक बाउन्सका उजुरीमा स्रोत खुलाउन सके जाहेरीको पक्षमा तत्काल प्रभावकारी अनुसन्धान गर्न मातहत युनिटहरुलाई प्रहरीको निर्देशन
काठमाडौँ — काठमाडौं महाराजगन्जका रोमिलाल श्रेष्ठले आफू सञ्चालक रहेको ‘सुलक्स वाच प्रालि’ का तर्फबाट २०७८ कात्तिक १६ मा नरेश प्रधानलाई १ करोड ५० लाख रुपैयाँको चेक जारी गरे । सुरुमा रोमिलालले ऋण तिर्न आनाकानी गरेका थिए ।
विवादपछि उनले नरेशलाई इन्भेस्टमेन्ट बैंकको डेढ करोड रुपैयाँको चेक दिए । लगत्तै आफ्नो चेकबुक हराएको भन्दै नरेशका नाममा जारी भएको चेक रद्द गर्न आग्रह गर्दै बैंकमा निवेदन दिए ।
नरेश चेक लिएर बैंक पुगेपछि कर्मचारीले तत्कालै रोमिलाललाई सम्पर्क गरेर बैंकमा आउन आग्रह गरे । चेकमा रोमिलालले गरेको हस्ताक्षर मिलेन भने त्यसमा उल्लेख गरेअनुरूप पर्याप्त रकम पनि खातामा थिएन । त्यतिबेलासम्म रोमिलाल सम्पर्कविहीन भइसकेका थिए । यता नरेशले दोस्रो पटक बैंकमा गएर पुनः चेक बाउन्स गराए । दोस्रो पटक बाउन्स गराउँदा ‘चेक स्टप’ उल्लेख गरियो । तेस्रो पटक गएर चेक बाउन्स गराएका नरेशलाई बैंकले ‘चेक स्टप’ र हस्ताक्षर नमिलेको कारण देखायो । ...







