वैशाखमा मात्रै १० अर्ब १९ करोड रूपैयाँ बराबरको भुक्तानी, कारोबार संख्यामा पनि उच्च वृद्धि
साना र खुद्रा कारोबारका लागि आफू रहेकै स्थानबाट पायक पर्ने समयमा भुक्तानी गर्न सकिने भएकाले उपभोक्ताको आकर्षण बढ्दो
काठमाडौँ — विद्युतीय भुक्तानीअन्तर्गत क्यूआर कोड प्रणालीमार्फत गरिने भुक्तानीको संख्या बढेको सरकारी तथ्यांकले देखाएको छ । वित्तीय कारोबारका लागि बैंकसम्म पुग्नु नपर्ने, आफू रहेको स्थानबाट पायक पर्ने समयमा भुक्तानी गर्न सकिनेलगायत कारण पछिल्ला वर्षमा यस्तो भुक्तानी बढेको हो ।
नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार क्यूआर कोडमार्फत गत वैशाख महिनामा मात्रै १० अर्ब १९ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ । यो तथ्यांक गत वर्षको यही अवधिको भन्दा करिब ४ गुणा अर्थात् ७ अर्ब ६७ करोड रुपैयाँले बढी हो । गत वर्षको वैशाखमा २ अर्ब ५२ करोड ९० लाख रुपैयाँको मात्रै कारोबार भएको थियो । कारोबार संख्यामा पनि भारी बढोत्तरी देखिएको छ । गत वैशाखमा ३० लाख ७१ हजार ८ सय ४३ वटा कारोबार हुँदा गत वर्षको वैशाखमा ६ लाख ७२ हजार वटा मात्रै कारोबार भएको थियो ।...







