काठमाडौँ, असार १२ गते । नेपालमा फोरजी सार्वजनिक भएको पाँचौँ वर्षमा मात्रै यसका प्रयोगकर्ताको सङ्ख्या व्यापक बढेको छ । दूरसञ्चार सेवा प्रदायकले फोरजी पु-याउन गरेको लगानी र नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सन् २०२२ भित्र देशैभर यो प्रविधि पु-याउन दिएको समयसीमाको प्रभाव यतिबेला फोरजीमा देखिन थालेको छ ।
नियामकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७८ चैतसम्म देशभर फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड ७१ लाख नाघेको छ, जुन २०७७ चैतको तुलनामा करिब एक करोडले बढी हो । त्यतिबेला देशभर फोरजी प्रयोग गर्नेको सङ्ख्या ७८ लाख ७१ हजार थियो ।








