आउने दसैँसम्म ३७ ब्रोकर कम्पनीले नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)राख्ने टार्गेट राखेका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को गत बिहीबार बसेको सञ्चालक समिति बैठकले धितोपत्र कारोबार सञ्चालन विनियमावली (तेस्रो संशोधन) स्वीकृत गरेसँगै ३७ ब्रोकर कम्पनीले दसैँसम्म नयाँ टिएमएस ल्याउने टार्गेट राखेका हुन्। “नेप्से सञ्चालक समितिले विनियमावली संशोधन गरेको खबर पाएका छौ। दसैँसम्म नयाँ टिएमएस ल्याउने टार्गेट राखेर काम अघि बढाएका छौ। अहिलेसम्म ३७ ब्रोकर कम्पनीले नयाँ टिएमएस ल्याउने पक्का पक्की भएको छ” नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले मेरो लगानीसँग भने।
मैनालीका अनुसार अहिले ३७ जनाले नयाँ ल्याउने पक्का पक्की भएपनि वाँकी रहेका ब्रोकर कम्पनीले समेत नयाँ नै ल्याउने आशय व्यक्त गरेका छन्। “अहिले ठ्याक्कै गर्छौ नै भन्ने साथीहरू ३७ जान हुनुहुन्छ। वाँकी रहेका साथीहरूले पनि हामी नयाँ नै प्रयोग गर्ने हो भन्ने आशय व्यक्त गर्नु भएको छ। तर अहिले कनफर्म नै भएकोचाहिँ ३७ जनाको छ” मैनालीले भने।
ब्रोकर कम्पनीले नयाँ टिएमएस ल्याउन स्थानीय कम्पनी डिजी हबसँग सम्झौता गरेका छन्। उनीहरूले सम्झौता गरेको कम्पनीले भने बेलायतबाट आयात गरेर दिने भनेको छ। जुन टिएमएस संसारभरिकै एक्सचेन्ज र ब्रोकर कम्पनीहरूले चलाउँदै आएको टेष्टेड हुने बताइएको छ।








