नेपालमा औपचारिक माध्यममार्फत पहिलो पटक विदेशबाट रेमिट्यान्स ल्याउने निजी क्षेत्रको कम्पनी आइएमई (इन्टरनेशनल मनी एक्सप्रेस) हो। यसका संस्थापक चन्द्रप्रसाद ढकाल हुन्। ढकालकै आइडियामा स्थापना भएको आइएमई अहिले मुलुकमा रेमिट्यान्स भित्र्याउने प्रमुख कम्पनी भएको छ। विदेशबाट आउने रेमिट्यान्सको करिब ३० प्रतिशत हिस्सा आइएमईले ओगटेको छ। आम सर्वसाधारणमा स्वदेश तथा विदेशबाट रकम पठाउने माध्यम भनेकै आइएमई हो भन्ने बुझाइ छ। सन् २००१ मा स्थापना भएको आइएमईले दुई दशक पार गरेको छ। आइएमईको २२ औं वार्षिकोत्सवको अवसरमा आइएमईको स्थापना कसरी भयो? अहिले रेमिट्यान्स आप्रवाहको अवस्था के छ? नीतिगत समस्या के छन्? मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सको महत्व लगायतका विषयमा आइएमईका संस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकालसँग नागरिक दैनिकका लागि नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीको सम्पादित अंश:
नेपालमा पहिलो पटक विदेशबाट बैंकिङ च्यानलमार्फत रेमिट्यान्स ल्याउनुपर्छ भन्ने सोच कसरी आयो?
वैदेशिक रोजगारका लागि धेरै नेपालीहरू विदेशमा थिए। विदेशबाट रकम ल्याउने औपचारिक माध्यम थिएन। हामी पनि जापानमा बसेका थियौं। त्यहाँबाट स्वदेशमा रकम पठाउने माध्यम खड्किएको थियो। त्यतिखेर धेरै मान्छे एकै पटक मलेसिया पनि गएका थिए। विदेशबाट पठाउने क्रममा धेरै मान्छेले पैसा लिएर भागेका पनि थिए। सन् २००१ मा विदेशबाट रकम पठाउने भरपर्दो माध्यम के हुन सक्छ भनेर अध्ययन गर्यौं। विदेशमा भएको अभ्यास जस्तै नेपालमा किन नगर्ने भनेर सन् २०२१ मा आइएमई स्थापना गरेर कारोबार सुरु गरेका हौं। विदेशबाट पठाएको पैसा सम्बन्धित परिवारसम्म पुग्न सकोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भनेर आइएमई सुरु गरेका हो।
विदेशबाट पैसा ल्याउँदा वा पठाउँदा जुन कम्पनी प्रयोग गरे पनि सर्वसाधारणले पैसा पठाउने भनेकै आइएमई गर्नु हो भन्छन्,–यो सफलता कसरी सम्भव भयो? ...







