भारतमा यसै आवमा ७५ वटा नयाँ बैंक खुल्दै, चीनको ‘वी बैंक’ विश्वकै सबैभन्दा ठूलो, सफल र उत्कृष्ट
काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट भाषणमा पूर्ण डिजिटल (डिजिटल–ओन्ली) बैंक स्थापना गर्ने घोषणा गरे । पूर्ण डिजिटल बैंक स्थापनाका लागि आवश्यक सबै व्यवस्था मिलाउने मन्त्री शर्माको भनाइ थियो । घोषणामा भनिएअनुसार बैंक स्थापना भए यो नेपालकै पहिलो पूर्ण डिजिटल बैंक हुनेछ ।
छिमेकी मूलक भारतमा यस वर्ष एकैपटक ७५ वटा डिजिटल बैंक स्थापना गर्ने त्यहाँकी वित्तमन्त्री निर्मला सीतारमणले बताएकी छन् । उत्तरी छिमेकी चीनमा भने विश्वकै ठूलो डिजिटल बैंक सञ्चालनमा छ ।
सन् २००८ को विश्वव्यापी आर्थिक संकटपछि डिजिटल बैंकहरू खुल्न थालेका थिए । सन् २०१४ पछि डिजिटल बैंकहरू फस्टाउने क्रम सुरु भएको हो । असामान्य परिस्थितिमा पनि कर्जा प्रवाहलाई यथावत् राखी व्यवसायहरू चलायमान बनाउन पूर्ण डिजिटल बैंक महत्त्वपूर्ण मानिन्छन् । वित्तीय क्षेत्रमा अनुसन्धान गर्दै आएको संस्था ‘द एसियन ब्यांकर’ हालै मात्र विश्वभर सञ्चालित त्यस्ता पूर्ण डिजिटल बैंकहरूबारे अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त अध्ययनमा विश्वका सय अग्रणी डिजिटल बैंकमध्ये चीनको वी बैंक सबैभन्दा ठूलो, सफल र उत्कृष्ट रहेको उल्लेख छ । ...







