११ महिनामा १ सय ३६ खर्ब रूपैयाँ बराबरको कारोबार
काठमाडौँ — पछिल्ला वर्षहरूमा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने क्रम बढेको सरकारी तथ्यांकहरूले देखाएका छन् । वित्तीय कारोबारका लागि बैंकसम्म पुग्नु नपर्ने, आफू रहेको स्थानबाट पायक पर्ने समयमा भुक्तानी गर्न सकिनेलगायत कारण विद्युतीय भुक्तानीमा नागरिकको आकर्षण बढेको जानकारहरू बताउँछन् ।
२०७८ वैशाखदेखि फागुनसम्म विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य सुधार भएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ । ‘उक्त अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, क्यूआर कोड, पीओएस, ई–कमर्सलगायत विभिन्न माध्यमबाट करिब १ सय ३६ खर्ब रुपैयाँबराबरको कारोबार भएको छ,’ राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा गभर्नर अधिकारीले भनेका थिए, ‘जसअनुसार रियल टाइम ग्रस सेटेलमेन्ट (आरटीजीएस) २०७८ वैशाखदेखि फागुनसम्म ३ सय २६ खर्ब रुपैयाँ, ६८ करोड अमेरिकी डलर, २८ करोड युरो, ३२ लाख जीबीपी र २२ अर्बबराबर जापानी मुद्रा कारोबार भएको छ ।’ ...







