वैशाख २१, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटर सशुल्क हुने सम्भावना देखिएको छ ।
भर्खरै ट्विटर किनेका अमेरिकी खर्बपति व्यापारी एलन मस्कले आफ्नो एक ट्विटमा ट्विटरलाई सशुल्क हुन सक्ने बताएका हुन् । तर शुल्क सबै ट्विटर प्रयोगकर्तामा लागू हुने छैन ।
ट्विटमा मस्कले ट्विटरका व्यवसायिक वा सरकारी प्रयोगकर्तालाई शुल्क तिराउने संकेत दिएका हुन् । सर्वसाधारणलाई भने यो निःशुल्क नै रहने बताइएको छ । मस्कले नयाँ फिचर ल्याउने र ट्विटरको प्रिमियम सेवा ट्विटर ब्लुको सब्सक्रिप्शन सेवामा हेरफेरको संकेत गरेका छन् । अतिरिक्त सेवाको लागि शुल्क लिएर ट्विट बटन, बूक मार्क अनडू गर्ने जस्ता सेवा थपिने छ ।
ट्विटरको ट्विटर ब्लु सेवा शुल्कमा आधारित छ । यसमा थोरै शुल्क लिएर प्रयोगकर्ताहरुलाई विशेष फिचर वा एपको सुविधा दिइएको छ । तर यो सेवा अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजिल्यान्डमा मात्रै उपलब्ध छ ।








