उपभोक्ताको संरक्षण, राष्ट्रिय सुरक्षा र अनुचित वित्तका क्षेत्रमा क्रिप्टो ‘डिजिटल एसेट’ ले ल्याएका जोखिम र अवसरलाई बुझेर मात्र कसुरजन्य कार्यको कोटिमा राख्ने–नराख्ने निधो गर्नु न्यायोचित हुन्छ ।
क्रिप्टोकरेन्सी कतै देखिँदैन, कतै भेटिँदैन तर पाउनका लागि मानिसहरू मरिमेट्छन् । क्रिप्टोकरेन्सीले कसैलाई छिनभरमा करोडपति बनाइदिन्छ तर त्यो को हो भनेर चिनाउँदैन । यसले करोडपति छु भनेर आभास गराउँछ तर यसको मूल्य (प्रोमिस भ्यालु वा फेस भ्यालु) फुट्टी कौडी बराबर हुँदैन । किनभने करोडौंको क्रिप्टोकरेन्सी भएर पनि त्यसबाट एक प्लेट मम किन्न सकिन्न । नाममा ‘करेन्सी’ जोडिए पनि यो मुद्रा होइन । मुद्रा सामान्यतः सार्वभौम राष्ट्रिय सीमाभित्र सीमित हुन्छ तर यो विश्वव्यापी छ ।
क्रिप्टोकरेन्सी भर्चुअल मुद्रा हो । यसको अस्तित्व अनलाइनमा सीमित हुन्छ । भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य बजारद्वारा तोकिएको हुन्छ । यो मुद्राको कुनै केन्द्रीय बैंक हुँदैन, यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय छैन । संसारभरिका कम्प्युटरहरूमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ । संसारभरिका मानिसहरू योसँग जोडिन सक्छन् र यसको कारोबार ‘ब्लकचेन’ प्रविधिद्वारा प्रमाणीकरण गरिन्छ । यो कथंकदाचित् ‘हराएमा’ फिर्ता पाउन सम्भव छैन । ...







