काठमाडौँ — करिब २ दशकदेखि नेपालमा दूरसञ्चार सेवा दिइरहेको एनसेल सरकारी स्वामित्वको नेपाल टेलिकमको मुख्य प्रतिस्पर्धी हो । अहिले नेपालमा दूरसञ्चार क्षेत्रको अवस्था, कोभिड महामारीले यस क्षेत्रमा पारेको प्रभाव, फाइभजी तथा अन्य सेवा विस्तार र सेवाको गुणस्तरलगायत विषयमा एनसेल एक्जिएटा समूहका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एन्डी चोङसँग कान्तिपुरका लागि सजना बराल र हेमन्त जोशीले गरेको कुराकानीको सम्पादित अंश :
नेपाली बजारमा आफ्ना ग्राहकलाई फाइभजी सुविधा उपलब्ध गराउन एनसेलको तयारी कुन चरणमा पुगेको छ ?
हामी नेपालमा टेलिकम्युनिकेसन क्षेत्रको मुख्य सेवा प्रदायकमध्ये एक हौं । त्यसैले हामीलाई फाइभजी प्रविधिमा जान आवश्यक छ । सम्बन्धित निकायबाट अनुमतिका लागि हामी कुरिरहेका छौं । व्यावसायिक योजना पनि बुझाइसकेका छौं । चाँडै त्यसको स्वीकृति पाउनेमा आशावादी छौं । शुरुवातमा परीक्षणका लागि फाइभजीको स्वीकृति पाउने र त्यसपछि मात्र व्यावसायिक रूपमा जाने हो । व्यावसायिक रूपमा जानुअघि हामीले सबै पूर्वाधार र संरचना तयार पारेर नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिनेछौं । फाइभजीका लागि स्वीकृती नपाउन्जेल हामी फोरजीलाई नै प्राथमिकतामा राखेर काम गर्नेछौं । सन् २०१७ देखि नेपालमा फोरजी लागू गरिरहेका छौं । फोरजी र एलटीई (लङ टर्म इभोलुसन) लाई पनि हामीले सँगसँगै लगिरहेका छौं । एलटीईलाई ९०० मेगाहर्ज ब्यान्डमा विस्तार गर्ने अभ्यास जारी छ । ग्रामीण र अर्ध–शहरी क्षेत्रका लागि यो ब्यान्ड निकै प्रभावकारी हुन्छ । हामीले सन् २०२२ को दोस्रो त्रैमाससम्म कुल जनसंख्याको ८६ प्रतिशतसम्ममा फोरजी पहुँच विस्तार गरिसक्नेछौं ।







