काठमाडौँ / नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ । बैंक र केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको हो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यालय, मध्य बानेश्वरमा आयोजित एक कार्यक्रमकाबीच भएको सो सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरे ।
सम्झौताका मुख्य विशेषता कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस ऋणमा नवीकरणीय ऊर्जा कोष (सिआरइएफ)ले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यसअन्तर्गत सुरुमा यस जमानतले रु. १० करोड सम्मको सुरक्षण प्रदान गर्ने बताइएको छ ।




