काठमाडौंः नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र २०७९ सार्वजनिक गरेको छ । घोषणापत्रमा साना किसानलाई १० हजार बराबरको किसान क्रेडिट कार्ड दिइने भनिएको छ । यस्तै, बजारीकरणका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने उल्लेख छ ।
घोषणापत्र मार्फत् साना किसानलाई दुई प्रतिशतमा तथा मझौला र ठुला किसानलाइ चार प्रतिशत व्याजदरमा कृषि ऋणको व्यवस्था उपलब्ध गराउने भनेको छ । दुई वा दुईभन्दा बढी स्थानीय तहहरुले आपसी साझेदारीमा कृषि बजारको स्थापना गर्ने कांग्रेसको योजना छ ।
६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दीर्घ रोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेका व्यक्तिलाई नियमित परीक्षण, परामर्श, औषधी र उपचारसहित घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ ।







