नबिल बैंकमा नेपाल बंगलादेश(एनबी) बैंक जेठ महिनाभित्रै गाभिने भएको छ । नबिल बैंकमा बंगलादेश बैंक गाभिनका लागि आवश्यक प्रक्रिया तीब्र रुपमा भइरहेको छ ।
जेठमहिना भित्र बंगलादेश बैंकलाई गाभ्नका लागि आवश्यक कार्यहरु भइरहेको नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बताए । ‘हाम्रो तर्फबाट जेठ महिनाभित्रै सकाउने गरी काम भइरहेको छ,’ उनले भने, ‘कुनै वाधा व्यवधान नआए जेठ महिनाभित्रै बंगालादेश बैंकलाई गाभिसक्छौं ।’
स्वाप रेसियो परिवर्तन हुने हो कि पहिलेकै कामय हुने हो भन्ने सम्बन्धमा भने उनले खुलाउन चाहेन । ‘यो नितान्तै गोप्य कुरा अहिले भनि नहालौं,’ उनले भने ।
यसअघि नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्नका लागि भएको सम्झौतापत्रमा १००ः४३ को अनुपातमा खरिद गर्ने सहमति भएको थियो । तर, प्रारम्भिक रुपमा सम्पत्ति तथा दायित्वको मूल्याकन (डिडिए) भएपछि यसमा केही परिवर्तन हुन सक्ने सम्भावना रहेको पनि जानकारी गराइएको थियो ।
डिडिए रिर्पोटमा १० प्रतिशतसम्म तल माथि भएपनि एनबी बैंकको एक सय कित्ता बराबर ३४ कित्ता हुने गरेर स्वाप रेसियो कायम हुने र त्यो भन्दा पनि कम वा बढी भएमा मात्र स्वाप रेसियो तल माथि हुने भएको छ ।
स्वाप रेसियोका बारेमा डिडिएको प्रतिवेदन आएपछि सामान्य परिवर्तन हुन सक्ने सम्भावना पनि छ । तर, स्वाप रेसियोमा त्यतिधेरै उथलपुथल हुने गरी परिवर्तन नहुने नेपाल बंगालादेश बैंकका एक उच्च कर्मचारीले बताए ।




