यस वर्ष (सन् २०२२) केही दिन अघिमात्र अर्थात् गत मार्च महीनाको २१ देखि २७ तारीखसम्म विश्वव्यापी रूपमा विश्व वित्तीय सप्ताह अर्थात् ग्लोबल मनी विक मनाइयो । त्यो दशौं विश्व वित्तीय सप्ताह थियो । पैसाको सही प्रयोग तथा व्यवस्थापनसम्बन्धी यो चेतनामूलक कार्यक्रम अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एन्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि नै मनाउँदै आइएको छ । यसैको माध्यमबाट विश्वका करोडौं बालबालिका तथा युवाले वित्तीय चेतना प्राप्त गरेका छन् ।
पैसासम्बन्धी अर्थात् बचत, ऋण, बीमा, विप्रेषण, उद्यमशीलता विकास, वित्तीय अधिकार आदि विषयहरूका साथै विद्युतीय (डिजिटल) बैंकिङ कारोबारका बारेमा सुसूचित गराई वित्तीय आत्मनिर्भरता र सुरक्षित वित्तीय भविष्य प्राप्तिमा सहयोग पुर्याउने मुख्य ध्येय विश्व वित्तीय सप्ताहको रहेको छ । यस अभियानले बालबालिका तथा युवालाई सकेसम्म धेरै बचत गर्न उत्प्रेरित गर्छ । उनीहरूमा पैसाका बारेमा विवेकपूर्ण निर्णय लिन र सही वित्तीय सेवाहरूको छनोट तथा तिनीहरूको सही प्रयोग गरी सम्पन्नताको बाटो लाग्न सघाउँछ । ...








