पश्चिमा मुलुकहरूको कडा प्रतिबन्धको सामना गरिरहेको रुसले आफ्नो प्रमुख निर्यातको रुपमा रहेको तेल र ग्याँसको बिक्रीमा बिटक्वाइनमार्फत् पनि भुक्तानी स्वीकार गर्ने तयारी गरिरहेको छ ।
रुसका एक वरिष्ठ सांसद पाभेल जाभाल्नीका अनुसार मित्रराष्ट्रहरूले तेल र ग्याँसको रकम क्रिप्टोकरेन्सी वा आफ्नो स्थानीय मुद्रामा भुक्तान गर्न सक्नेछन् ।
गत साता मात्रै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो समर्थन नगर्ने अर्थात् गैरमित्र मुलुकहरूले प्राकतिक ग्याँसको भुक्तानी रुसी मुद्रा रुबलमै गर्नुपर्ने बताएका थिए ।
यो वर्ष २० प्रतिशतले अबमूल्यन भैसकेको रुसी मुद्रालाई अबमूल्यन हुन नदिनका लागि पुटिनले यस्तो कदम चालेको विश्लषण गरिएको छ ।
युक्रेनमाथि रुसी हमलापछि अमेरिका, बेलायत, युरोपेली युनियनलगायतले रुसमाथि प्रतिबन्धहरू लगाएका छन् जसका कारण रुसी मुद्रा रुबल कमजोर बनेको छ भने रुसमा महँगी आकासिएको छ ।
तर रुस अहिले पनि विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्याँस निर्यातक हो भने दोस्रो ठूलो तेल निर्यात कर्ता हो । ...








