काठमाडौँ — एप्पल, अल्फाबेट (गुगल) र माइक्रोसफ्ट कर्पोरेसनजस्ता ठूला प्रविधि कम्पनीहरूले अनलाइन एकाउन्टमा लग-इन गर्न प्रयोगकर्तालाई आवश्यक पर्ने एउटा झन्झटिलो प्रक्रियाको अन्त्य गर्ने विषयमा आफूहरू निकै नजिक पुगेको बताइरहेका छन् । त्यो झन्झट हो: पासवर्ड । कम्पनीहरूले पासवर्डको सट्टा अनुहार, औंठाछाप र पिन कोडबाट लग-इन हुने विकल्प रोज्दै छन् ।
संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको फास्ट आइडेन्टीटी अनलाइन अलायन्स (फिडो) ले प्रयोगकर्तालाई उनीहरूको मोबाइल वा कम्प्युटरको अनलक सुविधा प्रयोग गरेर सबै अनलाइन एकाउन्टमा लग–इन हुन सकिने व्यवस्था गर्नका लागि दसकदेखि काम गरिरहेको छ । बाहिरी हस्तक्षेपको जोखिम हुने गरी नेटवर्कमा पासवर्ड पठाउनुको सट्टा अनलक फिचरबाटै साइन–इन हुनु सुरक्षित रहेकाले यसतर्फ काम भइरहेको फिडोले जनाएको छ ।







