काठमाडौं । पछिल्लो समय बैंकहरूले जारी गरेको क्यूआर कोडमार्फत भुक्तानी गर्ने बढेका छन् । पछिल्लो सात महिनाको तथ्यांक हेर्दा वालेटबाट भन्दा अधिकांशले क्यूआर कोड प्रयोग गर्न थालेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार माघमा क्यूआर कोडमार्फत ६ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी भएको छ । गत साउनमा भने क्यूआर कोडमार्फत ५ अर्ब ६ करोड रुपैयाँ मात्र भुक्तानी भएको थियो ।
राष्ट्र बैंकका अनुसार पछिल्लो समय मोबाइल वालेटबाट गरिने भुक्तानी घट्दै गएको छ । मोबाइल वालेटमाभन्दा क्यूआर कोडमार्फत सहज रूपमा भुक्तानी हुने भएकाले क्यूआर कोड प्रयोग गर्ने बढेको बैंकरहरू बताउँछन् । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ७ महिनाको तथ्यांक हेर्दा साउनयता क्यूआर कोडमार्फत भुक्तानी हुने रकम लगातार बढ्दै गएको छ । तर, कात्तिकमा भने क्युआर कोडमार्फत भुक्तानी हुने रकममा कमी आएको थियो । कात्तिकमा क्युआर कोडमार्फत ५ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी भएको थियो ।







