नेपालमा डिजिटल कारोबार सम्भव बनाउने एफवनसफ्ट समूहले गत आइतबार १८ वर्ष पूरा गरेको छ । डिजिटल कारोबार प्रवद्र्धनमा कम्पनीले गरिरहेका काम, डिजिटल भुक्तानीका परिदृश्य तथा भावी योजनाका सन्दर्भमा गोरखापत्रका विश्वास रेग्मीले सो समूहका संस्थापक एवं निर्देशक सुभाष शर्मासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
नगदरहित अर्थात् डिजिटल कारोबारको प्रयोग पछिल्लो समय बढिरहेको छ । यसको पहुँच, साक्षरता, प्रयोग र विश्वसनीयताका हिसाबले अहिले हामी खास कुन चरणमा छौँ ?
हामी अझै पनि प्रारम्भिक चरणमा छौँ । ग्रामीण क्षेत्रसम्म प्रविधिको पहुँच पु-याउन धेरै समय लाग्छ । साक्षरता, पूर्वाधारको कमीका कारण यस्तो भएको हो तर पनि सुरुमै व्यापक प्रयोग भएकाले डिजिटल कारोबार निरन्तर बढिरहेको छ । यसलाई उत्साहप्रद अवस्था मान्न सकिन्छ । वालेटमार्फत हुने भुक्तानी सुरु गर्दा ई–सेवाले गर्नुपरेको दुःख अरू सेवा प्रदायकले गर्नुपरेको छैन ।








