फागुन २८, काठमाडौं । इन्टरनेटको सहज पहुँच तथा नगद बोकेर हिड्नुपर्ने झञ्झट नभएका कारण विद्युतीय भुक्तानी गर्नेको संख्यामा उल्लेख्य बढोत्तरी भएको छ ।
दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा सहजरुपमा विद्युतीय भुक्तानी गर्न सकिने भएपछि कारोबारको मात्रामा वृद्धि भएको हो । सर्वसुलभरुपमा उपलब्ध भएको क्यूआर कोड भुक्तानीका कारण नागरिकको जीवनसमेत सहज भएको छ ।
नगद नै नभएपनि दैनिक जीवनयापन गर्न सकिने भएकाले पनि विद्युतीय भुक्तानीका विभिन्न उपकरणको वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तसम्म ६ अर्ब ८९ करोड २० लाख रुपैयाँ बराबरको भुक्तानी क्यू आरकोडमार्फत भएको छ । गत पुस मसान्तमा त्यस्तो भुक्तानी ६ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबर थियो ।








