जीरो मर्करी वर्किंग ग्रुपको एक नयाँ रिपोर्टमा ईबे, अमेजन र अलीबाबाद्वारा संचालित वेबसाइटहरु जस्तै विश्वका सर्वाधिक ठुला ई कमर्स प्लाटफर्ममा मर्करी उच्च स्तर भएको छाला गोरो बनाउने सौन्दर्य सामाग्री बिक्री जारी रहेको बताईएको छ ।
गोरो छाला बनाउने यस्ता क्रिम र साबुनमा धेरै मात्रामा मर्करी हुने अन्तरराष्ट्रिय संचारमाध्यम सिएनएनले सार्वजनिक गरेको छ । यद्यपी पहिलो पटक यी उत्पादनहरुको अनलाईन बिक्रीमा यो अध्ययन केन्द्रित रहेकोछ ।
सो समुहले युरोप,एशिया,अफ्रिकाका १७ देशहरुमा ४० भन्दा धेरै ईकमर्स साइटहरुबाट २७१ छाला गोरो बनाउने सौन्दर्य सामाग्रीहरू खरिद गरी परीक्षण गरेको थियो। तीमध्ये १६ देशहरुका १२९ उत्पदानहरुमा मर्करीको उच्च स्तर पाइयो जुन ३० भन्दा धेरै साईटहरुमा बिक्री भइरहेको थियो ।
मर्करी पोलीसी प्रोजेक्टका कार्यकारी निर्देशक र जीरो मर्करी वर्किंग ग्रुपका संयोजक माइकल बेंडरका अनुसार यी उत्पादनहरु अनलाईनमा व्यापक प्रयोग भईरहेको थियो । यसैगरी स्थानीय बजारमा जे देखिएको थियो, त्यसको तुलनामा यो एक विस्फोट जस्तै भएको माईकलले बताए ।
सौन्दर्य सामाग्रीहरुमा मर्करीको प्रयोग गर्दा विषाक्त प्रभावहरु देखिएकाले हाल धेरै राष्ट्रहरुमा रोकिएको छ । सन् २०१३ मा मर्करीका विषयमा गरिएको मिनामाता सम्मेलनमा कस्मेटिक उत्पादनहरुमा एक किलोग्राममा एक मिलिग्राम मात्र मर्करी राख्न पाउने मापदण्ड तोकिएको थियो । अथवा एक मिलियनमा एक भाग मात्र मर्करीको प्रयोग गर्न पाउने अन्तरराष्ट्रिय सीमा तोकिएको थियो । यो मापदण्ड सन् २०२१मा लागु भएको थियो । यद्यपी आँखासम्बन्धित कस्मेटिक्समा यो लागु हुँदैन । विश्व सन्धि अनुसार एक पीपीएम मर्करी भएको सौन्दर्य सामाग्रीको उत्पादन, आयात र निर्यातमा पनि प्रतिबन्ध लगाइएको छ ।
तर ४७ प्रतिशत छाला गोरो बनाउने यस्ता उत्पादनहरुको परीक्षण गर्दा अनुमति दिइएको भन्दा धेरै मर्करी पाइएको छ । परीक्षणमा अधिकांश सौन्दर्य सामाग्रीहरूमा १० हजार पीपीएम मर्करी र केहिमा ५० हजार पीपीएमसम्म मर्करी पाइएको रिपोर्टले देखाउँछ । सीएनएनले ती उत्पादनहरुको नाम भने उल्लेख गरेको छैन ।








