काठमाडौँ — अब सहकारी संस्थाहरुले पनि आफ्ना बचतकर्ता सदस्यलाई एटीएम कार्ड प्रदान गर्ने भएका छन् । बैंकहरूको एटीएमबाट पैसा झिक्न मिल्ने 'को–ओप' कार्ड सहकारीहरुले जारी गर्ने भएका हुन् । सहकारीको कार्ड भएकाले त्यसलाई अंग्रेजी छोटो नाममा 'को–ओप' कार्ड भनिएको हो ।
यसरी जारी हुने कार्ड चिपयुक्त र सुरक्षित हुने दावी गरिएको छ । सहकारीहरुलाई यस्तो कार्ड प्रदान गर्ने सम्बन्धमा राष्ट्रिय सहकारी बैंक, ग्लोबल आईएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)बीच सम्झौता भइसकेको छ । सम्झौताअनुसार ग्लोबल आईएमईमार्फत 'युनियन पे' को कार्ड जारी हुनेछ भने पीएसओको रुपमा एससीटीले जिम्मेवारी लिने छ ।
कार्डबाट हुने भुक्तानीको राफसाफका लागि पहिले नै सहकारी बैंकमार्फत ग्लोबल आईएमईमा सहकारीहरुको पैसा जम्मा हुनेछ । जारी हुने कार्ड संख्याका आधारमा राफसाफ रकम जम्मा गर्नुपर्नेछ । तर कति कार्ड लिने सहकारीले कति रकम राफसाफका लागि छुट्याउने भन्नेबारे यकीन भइसकेकाे छैन । बैंकमार्फत राफसाफको प्रक्रिया पुरा हुने छ । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंका अनुसार सहकारीहरुले कार्डका लागि आवेदन दिइसकेपछि सहकारी संयन्त्रको प्रभावकारी अनुगमन हुनेछ । ...







