नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गर्दै आएको एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पाेरेट पे प्रणाली मार्फत् गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी अन-अस (पठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रति कारोवार सीमा वृद्धि गरिएको छ ।
विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवम् नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात कारोबार सीमा बृद्धि गरिएकोमा अब बैंक/वित्तीय संस्थाका ग्राहकहरुले सरकारी राजस्व भुक्तानी गर्दा एनसीएचएल बैंक सेन्ट्रल मार्फत २ अर्ब रूपैयाँसम्म, र कर्पाेरेट पे मार्फत पब्लिक नेटवर्कबाट अन-असमा १ करोड रूपैयाँ र प्राइभेट नेटवर्कबाट अन-असमा ५ करोड रूपैयाँसम्म गर्न सक्नेछन् । वृद्धि गरिएको प्रति कारोबार सीमा पठाउने र पाउने बैंक/वित्तीय संस्था एउटै रहेको खण्डमा लागू हुनेछ भने पाउने र पठाउने बैंक/वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन रियल टाइम भुक्तानी ३० करोड रूपैयाँसम्म र रियल टाइम भुक्तानी २० लाख रूपैयाँसम्म नै लागू हुनेछ ।
थप गरिएको कारोबार सीमाले नेपाल सरकारको डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने पहललाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ । विशेषत नेपाल सरकार अन्तरिक राजस्व विभाग, भन्सार विभाग जस्ता ठूला रकम भुक्तानी गर्नुपर्ने निकायहरुका लागी यो सुविधा थप प्रभावकारी हुने विश्वास छ । एनसीएचएलले हाल कनेक्ट आईपीएस, कर्पाेरेट पे, बैंक सेन्ट्रल साथै विभिन्न सदस्य बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्ग तथा विभिन्न मोबाईल वालेट मार्फत पनि सरकारी राजस्व संकलन गर्ने सेवा विस्तार गर्दै आएकोमा चालू आर्थिक वर्षको फाल्गुन महिनाको मध्यसम्म एनसीएचएल मार्फत ३४ अर्ब रूपैयाँ बराबरको राजस्व संकलन भइसकेको छ ।








