कठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी मुद्रा (डलर)को बिक्रीदर १२३ दशमलव ४४ रुपैयाँ र खरिददर १२२ दशमलव ८४ रुपैयाँ निर्धारण गरेको थियो । यो भाउ अहिलेसम्मकै उच्च खरिद बिक्री दर हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलर महँगिएको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढ्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार रुस–युक्रेन युद्धको असरका कारण भारतीय मुद्रा कमजोर हुँदै गएको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर छ । डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको हो । यसले मुलुकको रेमिट्यान्स आय भने बढ्छ । तर, अधिकांश वस्तु आयातमै निर्भर हुनुपरेकाले डलरको भाउ अकासिएसँगै नेपालले ठूलो नोक्सानी खेप्नुपर्नेहुन्छ । ...








