काठमाडौं । सहकारी संस्थाहरूले ‘कोप कार्ड’ ब्राण्डमा एटीएम कार्ड जारी गर्न पाउने भएका छन् । राष्ट्रिय सहकारी बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) तथा ग्लोबल आईएमई बैंकसँग सहकार्य गरी एटीएम कार्ड सेवा शुरू गर्न लागेको हो । एससीटी, ग्लोबल आईएमई र सहकारी बैंकबीच आइतवार औपचारिक सम्झौता भएको छ ।
तीन महीनाभित्र सहकारी संस्थाहरूले सदस्यका लागि एटीएम कार्ड जारी गर्न सक्ने सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक कम्पनीहरूले सहकारीका सदस्यलाई विद्युतीय भुक्तानी सेवा दिन सक्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार ठूला केही सहकारीले एससीटीसँग सम्झौता गरी एटीएम सेवा शुरू गरेका छन् ।
संघीय सहकारी विभागले पनि फागुन १ गते एकीकृत निर्देशन जारी गर्दै सहकारीहरूले भुक्तानी प्रणाली/सेवा प्रदायक कम्पनीहरूसँग सम्झौता गरी एटीएम, क्यूआर कोड, मोबाइल बैंकिङलगायत सेवा दिन सक्ने व्यवस्था गरेको छ । यस्तो कारोबार गर्न संस्थाको विनियममा उल्लेख गर्नुपर्ने र सम्झौता भएको एक महीनाभित्र नियामकलाई जानकारी दिनुपर्ने प्रावधान छ ।








