सुनसरी — डिजिटल वालेट प्रयोगकर्ताले सामान्य सचेतना पनि नअपनाउँदा भएको एउटा ठगीको घटनामा कसरी नक्कली सिम र सामाजिक सञ्जाल टिकटकको पनि दुरुपयोग हुन्छ भन्ने एउटा घटना सार्वजनिक भएको छ ।
डिजिटल वालेट प्रयोगकर्ताको अज्ञानता र मोबाइल सिम वितरण प्रणालीमा विद्यमान कमजोरीको फाइदा उठाउँदै वीरगन्जका १९ वर्षीय शुभम् साहले ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेको घटनाले आर्थिक अपराधको फेरिँदो आयामबारे बुझाउँछ ।
भक्तपुरमा बस्ने रामहरि स्माइली मगरलाई फोन आयो । डिजिटल वालेट सेवा प्रदायक कम्पनी ई–सेवाको कर्मचारी बताउने वीरगन्जका शुभम् साहले भने, ‘म ई–सेवाबाट बोलेको । तपाईंले आफ्नै खातामा ५० हजार डिपोजिट गर्नुभयो भने २ हजार ५ सय रुपैयाँ बोनस पाउनुहुन्छ ।’ रामहरिले सोचे, ‘आफ्नै खातामा पैसा जम्मा गरेपछि पाउने बोनस किन गुमाउने ?’ ५० हजार डिपोजिट गरेपछि पनि बोनस नआएपछि रामहरिले फोन गरे । फोन बातचितमै १२ कक्षा अध्ययनरत शुभम्ले भने, ‘बोनस दिने प्रक्रिया हुँदै छ ।’ कुरैकुरामा शुभम्ले सोधे, ‘तपाईंको मोबाइलमा एउटा नम्बर आयो होला, त्यो भन्नुस् त ।’ सोझा रामहरिले एसएमएसमा आएको नम्बर दिए ।







