नबिल बैंक (NABIL) मा नेपाल बंगलादेश बैंक गाभ्नका लागि नेपाल राष्ट्र बैंकले सहमति दिएको छ। राष्ट्र बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्न सहमति दिएको हो।
आगामी ६ महिनाभित्र नबिल बैंक र नेपाल बंगलादेश बैंक (NBB) बीच एकीकृत कारोबार हुने भएको छ। बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले नबिल बैंकले बंगालादेश बैंकलाई गाभ्न अनुमति दिने निर्णय गरेसँगै दुई बैंकबीच एक्विजिसनमा जान बाटो खुलेको हो।
राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नबिल र बंगलादेश बैंकलाई एक्विजिसनमा जानका लागि सैद्धान्तिक सहमति (एलओआई) दिने निर्णय गरेको राष्ट्र बैंकका एक उच्च कर्मचारीले बताए। ‘नबिलले बंगलादेश बैंकलाई गाभ्ने सम्बन्धि प्रस्ताव राष्ट्र बैंकको सञ्चालक समितिमा लगिएको थियो,’ उनले भने, ‘उक्त प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ।’ योसँगै दुई बैंक एक्विजिसनमा जान बाटो खुलेको छ।
एलओआई पाएपछि ६ महिनाभित्र सबै मापदण्ड पूरा गरी एक्विजिसनमा गइसक्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्था बमोजिम आउँदो ६ महिनाभित्र एकीकृत कारोबार भइसक्ने ती कर्मचारीले बताए।
गत पुस २९ गते नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
सहमति अनुसार नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको थियो। समझदारी पत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए।
तर, सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) पछि शेयर अनुपात एकिन गर्न सकिने राष्ट्र बैंकका एक कर्मचारीले बताए। ‘वास्तवमा कुन अनुपातमा शेयर कायम हुने भन्ने विषयमा डीडीएपछि एकिन हुने छ,’ उनले भने, ‘डीडीएको रिपोर्ट नआउँदै त कुन अनुपातमा शेयर कायम गर्ने भन्ने निर्णयमा पुग्न कठिन हुन्छ।’ डीडीए रिर्पोटमा आएको भन्दा १० प्रतिशत तलमाथि गरी शेयर अनुपात मिलाउन सकिनेछ।




