काठमाडौं । नेपालमा रहेका तीन वटा मोबाइल कम्पनीको मोबाइल नम्बर पोर्टेबिलिटी गर्ने चर्चा चल्न थालेको छ । चार वर्ष अघि टर्कीको एक कम्पनीले मोबाइल नम्बर पोर्टेबिलिटीको अध्ययन प्रतिवेदन नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको थियो । उक्त प्रतिवेदनका आधारमा प्राधिकरणले आफ्नो वार्षिक कार्यक्रममा समेत राखेको छ । तर, विदेशी कम्पनीले अध्ययन गरेर प्रतिवेदन बुझाएको चार वर्ष बित्न लाग्दा समेत यो काम भने हुन सकिरहेको छैन ।
अहिले नेपालमा तीन वटा मोबाइल सेवा प्रदायक सञ्चालनमा छन् । भर्खरै प्राधिकरणले काठमाडौं उपत्यकाभित्र तीन वटा दूरसञ्चार कम्पनीको सेवाको मापन गरेको तथ्याङ्क समेत सार्वजनिक गरेको छ । तर तीन वटैको सेवामा गुणस्तरीयता नभएको प्राधिकरणले जनाएको छ ।
मोबाइल नम्बर पोर्टेबिलिटीका लागि आवश्यक पर्ने कार्यविधि समेत बनाइसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । उक्त कार्यविधि मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको प्राधिकरणले जनाएको छ ।
भारतमा २०२१ को डिसेम्बर महिनामा ८.५४ मिलियन मोबाइल नम्बर पोर्टेबिलिटी गरिएको थियो । नेपालमा पनि दूरसञ्चार प्राधिकरणले हाल मोबाइल नम्बर पोर्टेबिलिटी सेवा सञ्चालनमा ल्याउन आवश्यक तयारी गर्न लागेको छ । यसका लागि ग्लोबल बोलपत्र आव्हान गर्ने र यो सेवा सञ्चालन गर्ने कम्पनी छनोट गर्ने तयारीमा रहेको प्राधिकरणले जनाएको छ ।
के हो मोबाइल नम्बर पोर्टेबिलिटी ?
हाल नेपालमा सञ्चालनमा रहेका तीन वटा टेलिकम छन् । एनसेलको सेवा लिन एनसेलकै सिम र नम्बर योग गर्नुपर्ने बाध्यता छ । यस्तै नेपाल टेलिकमको सेवा लिन टेलिकमकै सिम र नम्बर प्रयोग गर्नुपर्ने हुन्छ ।
मोबाइल नम्बर पोर्टेबिलिटीको सुविधा भएको खण्डमा कुनै पनि कम्पनीको सिम प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको नम्बरमै अर्को सेवा प्रदायकको सेवा लिन सक्छन् । यसको अर्थ आफ्नो पुरानै नम्बरमा अनुकूलता अनुसार सेवा प्रदायक परिवर्तन गर्न सकिन्छ ।
तर तपाईँ उक्त कम्पनीको सेवाप्रति सन्तुष्ट हुनुहुन्न र आफूले चलाइरहेकै नम्बरमा अर्को कम्पनीको सेवा लिन चाहनुहुन्छ भने यस्तोमा मोबाइल नम्बर पोर्टेबिलिटीले तपाईँको समस्या समाधान गर्दछ ।
...








