काठमाडौं । कोरोना महामारीका कारण बैंक तथा वित्तीय क्षेत्रले नयाँ नयाँ प्रविधिको प्रयोग गरेर सेवा दिन थाले । कोरोना महामारी अघिसम्म प्रविधिमैत्री बैंकिङलाई सामान्य रुपमा हेरेका भएपनि बैंकहरुले धमाधम प्रविधिमा लगानी समेत बढाए ।
कोरोना महामारीमा विश्वभरीका वित्तीय संस्थाहरुले आफ्ना ग्राहकलाई बैंकसम्म नआइकन कसरी वित्तीय सेवा दिन सकिन्छ भन्ने तर्फ लगानी बढाउँदै आए । सोहि अनुसार नेपालमा पनि धेरै वित्तीय संस्थाहरुले प्रविधिमा गएको दुई वर्षमा धेरै लगानी बढाए । त्यसमा अन्य बैंकले भन्दा एनएमबि बैंकले फरक प्रकृतिको बैंकिङ सेवाका लागि लगानी बढाएको बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुनिल केसीले बताए ।
उसो त धेरै बैंकहरूले बिस्तारै आफूलाई प्रविधिमैत्री बनाइराखेका थिए । कोरोनापछि झनै तीव्र रुपमा यसको प्रयोग गर्नुपर्ने आवश्यकता देखियो । बैंकका ग्राहकहरुलाई बैंकसम्म नआइकन नै मोबाइलबाटै खाता खोल्ने, कारोबार गर्न मिल्ने, डिम्याट, मेरो शेयर खाता घरबाटै बनाउन मिल्ने र सामान्य रकमसम्मको ऋण समेत अनलाइनबाटै लिन मिल्नेसम्मका प्रविधिमा बैंकहरुको ध्यान जान थाल्यो ।








