भुक्तानी प्रणालीबीच अन्तरआबद्धता बढेपछि क्युआरमा आधारित भुक्तानी झनै बढेको छ । अहिले नेपाल राष्ट्र बैंकको अनुमति लिएर २७ भन्दा बढीले भुक्तानी प्रणालीले सेवा दिइरहेका छन् ।
एक अर्काबीच अन्तर आबद्धता नहुँदा क्युआर कोडबाट भुक्तानीमा समस्या देखिएकोमा पछिल्लो समय दुई भुक्तानी प्रणालीबीच सहमति गरेर एक अर्काको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्दा पनि भुक्तानी सम्पन्न हुन थालेपछि यस्तो भुक्तानीमा वृद्धि भएको हो ।
भुक्तानीलाई सहज गर्न राष्ट्र बैंकले हालै मात्र भुक्तानी प्रणालीको अन्तरआबद्धता र पहुँच सम्बन्धी विशेष निर्देशन दिँदै दुई भुक्तानी प्रणालीबीच एक आपसमा अन्तरआबद्धता कायम गर्न निर्देशन दिएको थियो । सोही बमोजिम अहिले इसेवाले सञ्चालन गरिरहेको फोनपे पेमेन्ट सर्भिसको फो पे सेवा र प्रभु टेक्नोलोजिका प्रभु पे बीच सहकार्य भएको छ । फोनपेले नै इसेवा मोबाइल सर्भिस समेत सञ्चालन गरिरहेको छ ।
फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेको कम्पनीको दाबी छ । बैंंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसी आइडि एसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।
पछिल्लो समय नेपाल भित्रको मात्रै होइन, चीनबाट सञ्चालित भुक्तानी प्रणाली वीच्याट पे, युनियन पेलगायतले समेत नेपालमा अनुमति पाइसकेको छ । अब चीनबाट एकदमै चर्चित वीच्याटबाट समेत नेपालका विभिन्न पसलहरुमा भुक्तानी गर्न सकिने सुविधा रहेको छ । यसले पनि क्युआर भुक्तानीलाई बढावा दिएको न्युरोडमा रेडिमेड सामानको व्यापार गर्ने उज्वल अधिकारीले बताए । उनले कुमारी बैंकबाट क्युआर कोडबाट भुक्तानी प्राप्त गर्न लागि मर्चेन्ट क्युआर कोड लिएका छन् । व्यवसाय दर्ता गर्दाको पान नम्बरको भरमा यस्ता क्युआर कोड लिन सकिने हुँदा आजकाल धेरै पसलहरुमा क्युआरकोडको ट्याग झुन्डयाएको देख्न सकिन्छ ।








